पर्वत । स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ । निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरेका छन् ।
राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रबार एक कार्यक्रम गरेर जानकारी दिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ । विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।
अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्