Ads

अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित


बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् ।बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिनुभएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेका हुन् । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेका छन् । बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि सङ्घले सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन् । कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । आजदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू