काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको चिनामा नै सिद्धिने लेखेको बताएका छन् । गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले केही दिनमा माओवादी सकिने टिप्पणी गरे ।
२०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आएको बताए । उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी सकिन्छ भनेर । अब त्यो आयो ।’
केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो ।
उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’
उनले नेकपा एकीकृत समाजवादी पार्टीतर्फ संकेत गर्दै माधव नेपालको पार्टी नै नबनेको उल्लेख गर्दै बन्दै नबनेको पार्टीको कसरी सकिन्छ भनेर टिप्पणी गरे ।
उनले प्रचण्डप्रति कटाक्ष गर्दै प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताए ।
उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनु, उनले चिनामै त्यस्तो बोकेर आएका छन् त म के गरौं।’
प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकेको भन्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्