काठमाडौं । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुबीच उपत्यकाव्यापी विशेष खेलकुद प्रतियोगिता आयोजना भएको छ । शुक्रवार राष्ट्रिय सुस्त–मनस्थिति कल्याण संस्था नेपाल, जिल्ला शाखा भक्तपुर र मध्यपुर थिमी नगरपालिकाको आयोजनामा थिमीमा सो प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुलाई समाजमा कसरी प्रतिष्ठित बनाउन र उनीहरुको उत्थानका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमले फरक क्षमताका बालबालिकाहरुमा अझै उर्जा थप्ने बताए ।
उनले फरक क्षमता भएका बालबालिकाहरुलाई समाजमा प्रतिष्ठित बनाउन खेल पनि माध्यम बन्नसक्छ भन्ने सोचले यो प्रतियोगिता आयोजना गरेको बताए । गत वर्ष पनि नगरपालिकाले खाम बनाउने कार्यक्रम सञ्चालन गरेको र सो खामहरु प्रयोगमा ल्याउने निर्णय भइसकेको बताए ।
उनले भने, ‘मध्यपुर थिमी नगरपालिकाले सुस्त मनस्थिति भएका बौद्धिक अपाङ्गता भएका भाइबहिनीहरुलाई समाजमा कसरी प्रतिष्थापन गर्ने । कसरी उत्थान गर्ने ? भनेर हामीले धेरै कार्यक्रम गरिसकेका छौँ । यो आज हामीले प्रथम उपत्यकाव्यापी जुन यो खेलको आयोजना गरेका छौँ, पक्कैपनि यसले विद्यार्थी भाइबहिनीहरु, सुस्त मनस्थिति भएका भाइबहिनीहरुलाई अझ उर्जा थप्नेछ । समाजमा प्रतिष्ठित हुनलाई केही न केही खेलको माध्यमबाट पनि गर्न सकिन्छ भनेर आज हामीले खेलको आयोजना गरेका छौँ ।
मध्यपुर थिमी नगरपालिकाले ति भाइबहिनीहरुलाई आयमुलक काममा पनि लगाउन सक्छौँ भनेर गत वर्ष हामीले खाम बनाउने कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ । उहाँहरुले बनाएको खाम मध्यपुर थिमी नगरपालिकाले प्रयोगमा ल्याउने भन्ने निर्णय गरेका छौँ । अपांग भएका व्यक्तिहरुलाई र उहाँका परिवारलाई धेरै दुःख हुने कारणले गर्दा नगरपालिकाले अपांगता भएका भाइबहिनीहरुलाई बीमा कार्यक्रम ल्याएका छौँ, उहाँहरुका परिवारका ५ जना सदस्यलाई पनि बीमा गर्ने भनेर कार्यक्रम ल्याएका छौँ । यसले अपांगता भएका भाइबहिनीहरुलाई आगामी दिनमा सहयोग पुग्नेछ ।’प्रमुख श्रेष्ठले नगरपालिकाले फरक क्षमता भएका व्यक्ति र उनीहरुका परिवारका ५ जनासम्म सदस्यलाई बीमा गर्ने कार्यक्रम ल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस्