काठमाडौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताएका छन् । काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा उनले नयाँ ‘मिडिया’ का कारण उत्पन्न भएको चुनौती समाधान गर्न उक्त ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।
‘डिजिटल प्लेटफर्म’ मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्ने र सरकारले चाहेमा यो प्रक्रिया चाँडै टुङ्गो लाग्ने पनि उनले बताए । नियमनकै लागि वर्षौँ लगाएर नयाँ ऐन ल्याउनुभन्दा पनि यही कानुनमा संशोधन प्रभावकारी हुने र त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने उनको सुझाव थियो ।
नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरु सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उनले जानकारी दिए । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन गर्दै आएको सिर्जनात्मक कामको प्रशंसा गरेका थिए । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले र दीपक पाण्डेले अनलाइन मिडियालाई समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्न सुझाव दिए ।
राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवं आजको अभिमुखीकरण कार्यक्रमका विषय विज्ञ डिल्लीराम भट्टराईले आचारसहिंता र काउन्सिलले जारी गरेका निर्देशिकाहरुको पालना गर्दा पेशागत मर्यादा र गरिमा अझ बढ्ने बताए । भट्टराईले भने । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही यसै हाम फाल्नेलगायतका प्रवृत्ति देखिएको उल्लेख गर्दै पत्रकारिता पेशा मुलुकको सबैभन्दा बढी जिम्मेवार पेशा हो भनेर काम गर्न सुझाव दिए। काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरुलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण कार्यक्रम गरी पत्रकारिता पेशा र आचारसंहिताका बारेमा जानकारी गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्