Ads

कांग्रेसले कसरी छान्दैछ उम्मेद्वार ?


काठमाडौ\ राष्ट्रिय सभा सदस्यको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुलाई उम्मेद्वार छान्ने चटारो छ । खास गरि सत्ता गठवन्धनका दलहरु यसमा लागेका छन् । चुनाव हुने सिट संख्या भन्दा कयौ गुणा बढि आकांक्षी भए पछि दलहरुलाई उम्मेद्वार छनौटमा समस्या देखिएको छ । यसैक्रममा नेपाली कांग्रेसले भने आकांक्षी व्यवस्थापन र उम्मेद्वार चयनका लागि मापदण्ड बनाएको छ ।

कांग्रेसले उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको नेताहरुले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १२ गतेदेखि बैठक बसेको थियो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आउँदो माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

पार्टीमा पटक पटक अवसर पाएका, गएको चुनावमा उम्मेदवार भएर पनि पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले राष्ट्रिय सभामा इच्छा देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए ।

केन्द्रीय सदस्यहरुको दबाबपछि बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । त्यस्तै, सरकारको एक वर्षको कामलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले खुलेर आलोचना गरेका छन् ।

सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र आम नागरिकका सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न बैठकले सरकारसँग माग गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू