काठमाडाैं । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराका साथ आज ११ औं नेपाली टोपी दिवस मनाइँदैछ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ । विगत केही वर्षदेखि काेराेना संक्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि यसवर्ष भने औपचारिक कार्यक्रम तय गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए ।
उनका अनुसार पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन (आज) बिहान ८ बजेदेखि बसन्तपुरमा भेला भएर कार्यक्रम गरिनेछ । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वकाे सरकारले २०६८ सालमा राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको संस्थापक अध्यक्ष बलामीले जानकारी दिए ।
विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ ।
यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल, टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ ।
बसन्तपुरमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन नसकेपनि नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरुमा राखेर विश्वभर प्रवर्द्धन गर्नका लागि सम्पूर्णमा संस्थाले अनुरोध गरेको छ । जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शाेभराज बराल, निराेज थापा र राजेश खत्री रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्