काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उद्योग तथा उपभोक्तालाई विद्युत् खपतको महसुल भुक्तानीका लागि किस्तावन्दीको व्यवस्था गरिएको छ । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरणले बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरिदिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिएका छन् ।
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका ६१ वटा उपभोक्ताहरुले २०८० मङ्सिर मसान्तसम्म कूल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । जसमध्ये पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको हो । अन्य उद्योगको लाइन पनि क्रमश स् काट्ने प्राधिकरणले जनाएको छ ।
विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रङ्क लाइन बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि प्राधिकरणले ताकेता र अनुरोध गर्दै आएको थियो ।तर महसुल नबुझाएका कारण नेपाल विद्युत् प्राधिकरणले पुस ६ गतेबाट २३ वटा उद्योगको विद्युत् लाइन काटिदिएको छ ।
आम उपभोक्ताले विगतमा दैनिक रुपमा १७\१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले भने डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी बिजुली बाल्न पाएका थिए । ती २३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई बुझाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्