Ads

कान्तिपुर पब्लिकेसनविरुद्ध रविले दायर गरे मुद्दा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन् ।

लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

‘कान्तिपुर पब्लिकेसनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग गर्नुभएको छ,’ उनले भने।

उनकाअनुसार कान्तिपुर पब्लिकेसनले गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ र ३०६ बमोजिम कसुर गरेकाले ३०५ अनुसारको सजाय मागदाबी गरिएको हो।

कसैले कसैको गाली गरे/गराएमा एक वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्‍था छ। साथै कसैले कसैको बेइज्जती गरे/गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

तर विद्युतीय माध्यमबाट बेइज्जती गरे/गराएमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।

बेइज्जती गरेको ठहरियो भने मनासिव क्षतिपूर्ति र त्यस्तो कसुरदारलाई मुद्दामा लागेको खर्च समेत भराउनुपर्ने कानुनी व्‍यवस्था छ।

लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू