धनकुटा\ देशमा आर्थिक संकट बढेको भन्दै साना तथा मझौला कतिपय उद्योगहरु बन्द हुन थालेका छन् । यस्तै सयौलाई रोजगारी प्रदान गरि रहेका ठुला उद्योगहरु समेत बन्द हुन थाले पछि यसको प्रत्यक्ष प्रभाव समग्र अर्थतन्त्र तथा रोजगारी गुमाएका व्यक्तिका परिवार सम्म पुग्न थालेको छ ।
यसै क्रममा पछिल्लो पटकआर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएको भन्दै धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।
दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् ।
आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौं रुपैयाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेको र चिसोका कारण पनि सुरुवातदेखि नै तीन सय टन उत्पादन क्षमता रहेको सो उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाँइले जानकारी दिए ।
कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दिका कारण भारतका विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मुल्य अत्याधिक बढ्नु र सिमेन्ट बिक्रि ठप्प हुँदा उद्योग बन्द भएको हो ।
उद्योग सञ्चालन हुँदा कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो । यता उद्योगले जरिवाना बाहेक १४ करोड १८ लाख ३३ हजार ९ सय १० रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेपछि विद्युत प्राधिकरण धनकुटाले लाइन काटेको छ ।
प्रतिक्रिया दिनुहोस्