Ads

न्याय र सम्मानको खोजीमा द्वन्द्व पीडित सुरक्षाकर्मीका परिवार


काठमाडौ, द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले सशष्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले उचित राहत र सम्मान पाउन नसकेको भन्दै विभिन्न दल तथा पदाधिकारीहरुको ध्यानाकर्षण गरएको छ । द्वन्द्वको समयमा २ हजार ९ सय ९५ सुरक्षाकर्मीले शहादत प्राप्त गर्नका साथै ७ हजार भन्दा बढि घाईते भए पनि उनीहरु प्रति राज्यले विभेद पूर्ण व्यभार गरेको संस्थाले जनाएको छ ।

संस्थामा आवद्ध परिवारहरुले ऐनका कतिपय व्यवस्थालाई मानव अधिकारको गम्भीर उल्लङ्घन भनी गरिएको परिभाषा पूर्वाग्रही रहेको भन्दै मुख्य दलका नेताहरुको ध्यानाकर्षण गराएका हुन् । संस्थाकी उपाध्यक्ष रीता कार्कीले सहादत प्राप्त सुरक्षाकर्मीका परिवारलाई प्रारम्भिक र अन्तरीम राहत मात्र दिएर राज्यले आफ्नो दायित्व भुलेको बताएकी छन् । राज्यकै पक्षबाट लडेका सुरक्षाकर्मीहरुलाई मृत्यु पछि समेत अपमान गरिएको भन्दै विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराउनु परेको उनको भनाई छ ।

सहादत प्राप्त सुरक्षाकर्मीका परिवारसँग नेकपा एमालेका नेताहरुले ज्ञापन बुझ्दै अन्तरक्रिया समेत गरेका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता रहेका देवेन्द्र दाहालले पीडितहरुका माग जायज रहेको भन्दै राज्यले विना विभेद न्याय दिन सक्नु पर्ने बताए । पीडितहरुको ज्ञापन पत्र बुझे पछि उनले द्वन्द्वमा परि ज्यान गुमाए तथा घाईते भएका राष्ट्रसेवकहरुलाई सम्मान गर्ने कार्य एमालेको सरकारलेनै गरेको भन्दै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिए ।

यस्तै प्रतिनिधि सभाका एमाले सचेतक महेश बर्तौलाले पीडित सुरक्षाकर्मी तथा परिवारको माग संवोधनका लागि एमालेले पहल कदमी लिने समेत बताए । २०७५ साल माघ १५ गते सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागमा रहि द्वन्द्वकालमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गरेका थिए ।

तर त्यस पछिका सरकारले आफुहरुको माग नसुनेको र निरन्तर विभेदको चपेटामा पारेको परिवार सदस्यहरुको गुनासो छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले आफुहरुको माग संवोधन गर्न नसके छुट्टै संयन्त्र बनाएर भए पनि द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको माग संवोधन गर्नु पर्ने उनीहरुका आफन्तहरुको माग रहेको छ । सहिद सुरक्षाकर्मीका परिवारले प्रारम्भमा प्रोत्साहन राहतको रुपमा साढे ७ लाख र त्यस पछि अन्तरीम राहतका रुपमा अढाई लाख दिईए पनि न्याय र सम्मान दिन नसकेको परिवारको गुनासो छ ।

द्वन्द्व पीडित सुरकर्मी परिवारकका रीता सेन, नन्दा श्रेष्ठ, शोभ श्रेष्ठ, एकमायाँ विक, घाईते रणवीर लावती लगायतको टोलीले एमालेका नेताहरुका साथै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायत अन्य नेताहरुलाई समेत ज्ञापन पत्र बुझाएका हुन् ।

 

Ads

सम्बन्धित पोष्टहरू