दैलेख\ राउटे समुदायले माघी पर्वअघि सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग राखेका छन् । न्यानो कपडा र दैनिक प्रयोगका सामग्री वितरण गर्न राउटे बस्ती पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग उनीहरूले यस्तो माग राखेका हुन् ।
मुख्य चाड माघीअघि नै सामाजिक सुरक्षा भत्ता पठाइदिन राउटे युवती गाजली शाहीले प्रमुख जिल्ला अधिकारी भुसालसँग आग्रह गरिन् । जवाफमा भुसालले माघीअघि नै भत्ता पठाउनेबारे आफूले पहल गरिसकेको सुनाए ।
हरेक दुईरतीन महिनामा बस्ती सार्दै हिँड्ने क्रममा राउटे समुदाय दुई दिन अघिमात्र दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा आइपुगेको छ । राउटे समुदायका ४१ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले एउटा त्रिपाल, कम्बल, सिरक, टर्च, रुमाल, बाल्टी, जगसहितका सामग्री दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भुसाल, नेपाली सेनाको कालीदत्त गुल्मका सेनानी दीपेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल, सशस्त्र प्रहरीका डीएसपीसमेतको टोलीले बस्तीमै पुगेर सहायता सामग्री दिएको हो ।
प्रतिक्रिया दिनुहोस्