Ads

उम्मेद्वार चयनका लागि दलहरुको कसरत


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिए पछि उम्मेद्वार चयनका लागि दलहरु छलफलमा जुटेका छन् । प्रारम्भिक भाग वण्डा सकिएको बताए पछि सत्ता गठवन्धनका दलहरु मात्रै होईन राप्रपा लगायतका दलहरुले पनि भाग खोज्दै छलफल अघि बढाएका छन् ।
यसै क्रमाम नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा कति सिट पर्ने भन्ने अझै निश्चित छैन । तर गठबन्धनमा कांग्रेसले १३ सिट दाबी गरिरहेको भए पनि १० सिटभन्दा बढी पाउने अवस्था नरहेको नेताहरू बताउँछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

एसले दियो शिर्ष नेतालाई जिम्मा

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका हुन् ।

उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट सङ्ख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको बताए । पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाएको उनको भनाई थियो ।

राप्रपा पनि भाग खोज्दै छलफलमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ ।

शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले चुनावमा सहकार्यका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने र त्यसको जिम्मा कार्यबाहक अध्यक्ष तथा राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई दिने निर्णय गरेको हो ।

राप्रपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सातवटै प्रदेश समितिलाई निर्देशन दिएको थियो । प्रदेश समितिले सिफारिस गरेको नाममाथि पार्टीको संसदीय समितिले शनिबार छलफल गरेको थियो ।

त्यसपछि गत वर्षको प्रतिनिधिसभा निर्वाचको समानुपातिकतर्फ उम्मेदवार रहेका नामहरु हटाएर संसदीय समितिले केन्द्रीय कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू