काठमाडौँ । नोबेल कलेजले अब पनि कानून उल्लंघन गरेमा नियमानुसार सम्बन्धन खारेज गर्न संसदीय समितिले चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ ।
आज(सोमबार) बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बढी शुल्क लिने नोबेल कलेजलाई नियम नमाने कारबाहीको दायरामा ल्याउन समिति सभापति जयपुरी घर्तीले निर्देशन दिएकी छन् ।
अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलन गरेपछि कलेजले अझ बढी टर्चर गरेको बताउँदै विद्यार्थीहरुले फागुन १० गते समितिमा निवेदन दिएका थिए । अतिरिक्त शुल्कको समस्यासंगै दुव्र्यवहार र धम्की समेत आएको निवेदनमा उल्लेख छ । आइतबार कलेजका प्रतिनिधि, आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिबीचको छलफलमा २५ गतेसम्म यो समस्या सुल्झाउने सहमति भएको छ ।
कलेजले विद्यार्थीका समस्या समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्नेबारे शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले स्पष्ट पारेका छन् । नोबेलले छात्रबास अनिवार्य गरेको र अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षाबाट वञ्चित गरेपछि पिडित विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन् ।
आयोगले कलेज सञ्चालकसँग बैठक बसेर सहमतिको प्रयास गर्ने भएको छ । यदि बैठकमा सहमति नभएको खण्डमा कारबाही खारेजीको प्रक्रिया अगाडि बढाउने आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्