काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार पोखरामा निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए ।
अध्यक्ष ओलीले भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिए । उनले भने, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ ।’
प्रतिक्रिया दिनुहोस्