Ads

फ्रान्स : कान्छा राष्ट्रपति, कान्छा प्रधानमन्त्री


एजेन्सी\ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यससँगै ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन्।

६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गरेसँगै राष्ट्रपति म्याक्रोँले एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन् र उनलाई सरकार बनाउने जिम्मेवारी दिएका छन्।’ यससँगै यसै साता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ।

म्याक्रोँले कार्यकालको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका वेला एटललाई जिम्मेवारी दिएका हुन्। यससँगै प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने अपेक्ष गरिएको छ। ३४ वर्षीय एटलले यसअघिको रेकर्ड सजिलै तोडेका छन्। यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट ​फाबियस प्रधानमन्त्री नियुक्त भएका थिए।

खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटलले सबैभन्दा कम उमेरमा सरकार प्रमुखको रेकर्ड बनाएका हुन् । हाल एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

एटलको अधिक लडाकू शैली उहाँका पूर्ववर्ती बोर्नको विपरित हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू