Ads

कुकुरलाई सार्वजनिक ठाउँमा शौच गराए कार्वाही


काठमाण्डौ – तपाई आफ्नो कुकुरलाई सार्वजनिक ठाउँमा शौच गराउनु हुन्छ ? अब होशियार हुनु होला । तपाई कार्वाहीमा पनि पर्न सक्नु हुन्छ । अथवा तपाईँको प्यारो कुकुरनै जफत पनि हुन सक्छ ।

घरपालुवा कुकुरलाई सार्वजनिक ठाँउमा शौच गराउनेलाई काठमाण्डौ महानगरपालिकाले कारबाही शुरु गरेको छ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सोमवारदेखि महानगर प्रहरी परिचालन गरी सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउनुहरुलाई कारबाही थालिएको हो । यसअघि पनि बेलाबेला काठमाण्डौ महानगरपालिकाले सचेत गराउँदै आए पनि सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउन नछाडेपछि अहिले कुकुर जफत गर्न थालिएको उनको भनाई छ। चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो ।

यसपटक भने काठमाण्डौ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रका कारण परजीवी जुका पर्ने तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताएका छन् ।

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि असर हुने बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू