Ads

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिँदैनः रमेश लेखक


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन् ।

उनले मतदाता प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले एउटा पार्टीका उम्मेदवारहरूले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रियसभा निर्वाचन केन्द्रिय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने उनले बताए ।

उनले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधबारबाटै काम सुरु गरिसकेको बताए । पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताएका छन् ।

पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेतासमेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताए । साथै गठबन्धनले सबै जिल्लाहरूमा पार्टीका जिल्ला प्रमुखहरू सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन छ । हामीले उम्मेदवार पनि गठबन्धनबाटै दिएका छौँ । आफ्ना सबै उम्मेदवारहरुलाई जिताउनका लागि विभिन्न ठाउँमा समितिहरु बनाउने कुरा भएको छ । यसले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति बनेको छ । हामीले हिजोदेखि त्यसको काम प्रारम्भ गरेका छौँ । पहिलो चरणमा हामीले हिजो नै सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेका छौँ । जुनजुन प्रदेशमा जुनजुन पार्टीको मतदाताहरु छन्, त्यो पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष ती पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने त्यसपछि त्यो सात प्रदेशको समन्वय समितिले सबै जिल्लाहरुमा पनि जुनजुन जिल्लामा जुन पार्टीको मतदाता छ, त्यो पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने भन्ने हामीले निर्णय गरेका छौँ । यी समन्वय समितिले एकअर्कासँग समन्वय गरेर सबै मतदाताहरुलाई गठबन्धनका पक्षमा मतदान गर्नका लागि उत्प्रेरित गर्ने, सम्पर्क गर्ने, मत गणनासम्मका लागि यी समितिहरु क्रियाशील रहनेछ ।’ उनले भने,’मत बाँडिदैन, किनभने पहिलो कुरा के छ भने यसमा निश्चित मानिसहरु मतदाता छन् । मतदाता प्रदेश सभाका मान्य सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु छन्, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु छन् । यी सबै पदाधिकारी भनेका आफ्ना आफ्ना पार्टीका नेता नै हुन् । आफ्ना पार्टीका नेताले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नुहुन्छ । त्यसरी मत विभाजित हुने अथवा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति हुँदैन । यो भनेको व्यवस्थापन गर्ने विषय हो । जस्तो उम्मेदवारहरुलाई सबै मतदातालाई भेट्टाउनुप¥यो । हाम्रो पार्टीको उम्मेदवार छन्, अर्को पार्टीको मतदाताले नचिनेको हुनसक्छ । अन्तरक्रिया नभएको हुनसक्छ । यी समन्वय समितिले सबै पार्टीका गठबन्धन भित्रका उम्मेदवारलाई मतदातासँग अन्तरक्रिया गराउँछन् र निर्वाचन व्यवस्थित बनाउने काममा लाग्छौँ ।’

Ads

सम्बन्धित पोष्टहरू