काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा अब छिट्टै नै सहमतिमा पुग्ने आशा बढेको बताए।
अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने उनको भनाइ छ। यसमा सहमति जुटाउन समितिका सदस्यहरु र शीर्ष नेताहरुसँग छलफल गरी टुंगो लगाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
आगामी अधिवेशनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी मन्त्री गुरूङको छ।
‘संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा माननीयहरुको कुरा सुनिरहँदा मलाई के लाग्यो भने- अब भर्खरै बोल्ने मान्यज्यूले लाज लाग्न थाल्यो भन्नुभएको छ, अब लाज लाग्दैन कि जस्तो लागेको छ। अब ढाँट्नु नपर्ने दिन पनि नजिकै आएको जस्ते लागेको छ। यसमा हामीले बुँदा-बुँदा र शब्द-शब्द केलाएका छौँ। अझै सहमति खोज्नुपर्छ,’ उनले भने।
उनले आउने अधिवेशनमा सहमतिमै विधेयक पेश हुने र पारित हुने पनि बताए। ‘सहमतिका लागि आठदेखि १० दिनसम्म अनौपचारिक रुपमा साथीहरुसँग रहन्छौँ। शीर्ष नेतासँग पनि रहन्छौँ,’ उनले भने।
मन्त्री गुरुङले एमालेका सचेतक महेश बर्तौलाप्रति लक्षित गर्दै एमालेले साथ दिएपछि सहमतिबाटै विधेयक पेश हुने बताए।
प्रतिक्रिया दिनुहोस्