इलाम । इलामको माई नगरपालिका–२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले छोरा इन्जिनियर सुवर्णको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी ‘इन्जिनियर सुवर्ण कार्की स्मृति अक्षयकोष’ स्थापना गरेका प्रधानाध्यापक हरिप्रसाद पौड्यालले जानकारी दिए । कार्की दम्पतीले अक्षयकोषबापतको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौड्याललाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै कार्कीले बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए । उनको छोराले सोही विद्यालयान अध्ययन गरेका थिए । कार्की पनि सोही विद्यालयमा अध्यापन गरेर सेवानिवृत्त भएको हो । उनका छोरा सुवर्णको २०७६ सालमा ब्रेनट्युमर रोगबाट निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्