काठमाडाैँ । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २८औँ जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा बृहत् वक्तृत्वकला प्रतियोजिता आयोजना गरेको हो ।
वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागीले बढिमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्ने वाईसीएलका सचिव उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए । त्यसका लागि गुगल फर्मको व्यवस्था गरिएको उनको भनाइ छ ।
डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर बोल्नुपर्ने वाईसीएलले जनाएको छ ।
आयोजक विभाग प्रमुख ढकालले भिडियो आगामी माघ १० भित्र पठाइसक्नुपर्ने बताए । ती भिडियोलाई वाईसीएलले फेसबुक पेजमा राख्ने र माघ २८ दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट सेयर र भ्युजको आधारमा विजेता उपविजेताहरूको टुंगो लगाइने ढकालले जानकारी दिए ।
यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिने उनले बताए । भिडियोको लाइक, कमेन्ट, भ्युज र सेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ भने विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाउने वाईसीएलले जनाएको छ । सहभागीमध्येबाट प्रथम हुनेलाई ३० हजार नगद र प्रमाणपत्र दिइने र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने ढकाले बताए ।
प्रतिस्पर्धीहरूले पठाएको भिडियो आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिने र सोही पेजको आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ । फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा विजेतलाई पुरस्कार र प्रमाणपत्र दिइने सचिव ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्