Ads

उपाय : आरक्षलाई निकुञ्ज बनाउने देखि सहकार्य बढाउने सम्म


इनरुवा, सुनसरीका सरोकारवालाहरूले वन्यजन्तु र मानव बिचको द्वन्द्व कम गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको प्राकृतिक स्रोतमा आधारित द्वन्द्व र द्वन्द्व रूपान्तरणको विधि विषयक संवाद कार्यक्रममा सरोकावालाहरुले वन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरणका लागि सबैले एकअर्कासँग हातेमालो गर्नुपर्नेमा जोड दिएका हुन्।

बिहीबार भएको कार्यक्रममा समुदाय, स्रोत उपभोग एवम् संरक्षणका विषयमा सबै एक रहेको भएपनि केही कानुनी प्रावधान र केही व्यवहारिक पक्ष तथा सचेतनाको अभावमा कोशी टप्पु वन्यजन्तु आरक्षका वन्यजन्तु र मध्यवर्ती क्षेत्रका मानव बिचको द्वन्द्व कम गर्न हातेमालो गर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले सुनसरीमा मात्रै नभई देशभर नै आरक्ष तथा निकुञ्ज क्षेत्रमा केही न केही रूपमा वन्यजन्तु र मानव बिचको द्वन्द्व भएपनि त्यसलाई कम गर्ने पक्षमा आफूहरूले काम गर्दै आएको बताए । यादवले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका नागरिकहरूलाई घाँस दाउरा, पटेर र माछा मार्न व्यवस्था मिलाएको भएपनि अनाधिकृत रूपमा पशुचौपाया छाड्ने, वृक्षारोपण गरेकोमा उजाड गर्ने, सिकार गर्ने लगायतका काम बन्द मात्रै गरेको खण्डमा वन्यजन्तु आरक्ष र मानव बिचको द्वन्द्व कम गर्न सक्ने उनको भनाई छ ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले कोशी टप्पु वन्यजन्तु आरक्षमा आउने लाभ प्रमुख संरक्षण अधिकृतहरूले मात्रै लिने र दुख जनताले पाइरहनुपर्ने अवस्था रहेको गुनासो गरे। अंसारीले आरक्षमा आएको बजेटहरू पारदर्शी नभएको, जनतासँग समन्वय नभएको र स्थानीय तहहरूलाई जानकारी समेत नदिने प्रवृत्तिले पनि द्वन्द्व बढेको जनाए । उनले कोशी टप्पु वन्यजन्तु आरक्षलाई आफूले पटकपटक निकुञ्जमा परिणत गरेर विकास गर्नुपर्ने धारणा राख्दै आएको धारणा राखे । निकुञ्जमा परिणत भएको खण्डमा वन्यजन्तु र मानव बिचको द्वन्द्व केही मात्रामा भएपनि घट्ने उनको दावि छ ।

सामाजिक परिवर्तन केन्द्रका डा. प्रकाश भट्टराईले कोशी टप्पु वन्यजन्तु आरक्ष र नागरिकका बिचका असमझदारीहरूलाई अल्पकालीक र दिर्घकालिन गरी दुई हिसाबले सम्बोधन गर्नुपर्ने बताए । केन्द्रका सुनसरी संयोजक रमेश भट्टराईले प्रमुख संरक्षण अधिकृत, गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधिहरू र सरोकारवालाहरूका बिचमा समन्वय, सहकार्य र सहयोगको भावनाले काम गर्न सकेको खण्डमा यसक्षेत्रमा केही न केही रूपमा वन्यजन्तु र मानव बिचको द्वन्द्व कम गर्न सक्ने धारणा राखे ।

कार्यक्रममा अधिकारकर्मी रविन घिमिरे, संरक्षणकर्मी गोपी यादव, विदिलाल सरकार, पीकीं सरदार, राजकुमार शर्मा, नसिबुल्ला मियाँ, अमिन नेपाली मियाँ, पावर्ती उराँव, जागेश्वर यादव सहितले वन्यजन्तु र मानव बिचको द्वन्द्वका बारेमा बोलेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू