काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनकारुपमा समेत स्मरण गर्न चाहन्छु । तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भए पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ ।
आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने समेत विश्वास व्यक्त गर्दछु । पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीन सय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक छन् । आजको विशेष दिनमा दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
२७ पुस, २०८० देवराज घिमिरे
प्रतिक्रिया दिनुहोस्