काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।
बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका हुन् । ओपनर आशुतोष घिरैयाले ५७ बलमा पाँच चौकासहित ४१ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ एपीएफका रोहित पौडेलले चार विकेट लिए भने अभिनाश बोहरा र श्याम ढकालले समान दुई–दुई विकेट लिए । पुरन विक र भुवन कार्कीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । उनले सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।
त्यस्तै, लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०/१० रन बनाए । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै, सोनु देवकोटाले एक विकेट लिए । यस हारसँगै बागमती प्रदेशको यो दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्