नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले तीन करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा साेमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले तीन करोडभन्दा माथि र प्रदेश सरकारले एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए ।
“तीन तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो ।” उनले भने, “ससाना र टुक्रे योजना निरुत्साहित गर्न कुन सरकारले कति आकार बजेटको योजना कार्यान्वयन गर्ने भन्ने नयाँ नियम बनाइएको छ । तोकिएको आकारभन्दा कमको योजना ल्याउन पाइन्न भने त्योभन्दा बढी आकारको ल्याउन प्रोत्साहन गरिनेछ ।”
उनले राज्य पुनः संरचना पश्चात अधिकार सम्पन्न तीन तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए । योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा तीन तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीब्र गतिमा रहेको उनको भनाइ छ ।
नुवाकोटमा पछिल्ला वर्षमा बजेटको आकार घटेको र बहुवर्षीय योजनामा सुनिश्चित भएका योजना अपूर्ण रहेकाले यस वर्ष अन्य जिल्लाको भन्दाबढी बजेट विनियोजन गरिएको उनले जानकारी दिए । “सडक, सिँचाइ, खानेपानीलगायत बजेटको आधार बढाइएको छ । अझै अपुग योजनालाई आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेछ ।” उनले भने ।
प्रतिक्रिया दिनुहोस्