Ads

झापामा ड्रागन फलको खेती बढ्दै


झापा । ड्रागन फलले बजार पाउन थालेपछि झापामा व्यवसायिकरुपमा यसको खेती सुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यवसायिकरुपमा खेती सुरु गरिएको हो  । हाल दमक, बुद्धशान्ति, बाह्रदर्शी, गौरीगञ्जलगायतका ५० विघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फलको व्यवसायिक खेती भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

गत आर्थिक वर्षमा अनुदानको कार्यक्रम सञ्चालन गरेकाले पनि खेतीमा किसानको आकर्षण बढ्दै गएको पाइएको उनको भनाइ छ । खेतीसँगै किसानले यसको विरुवा उत्पादनमा पनि जोड दिँदै आएको उनले बताए । “बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले आफैँ नर्सरी सञ्चालन गरी अन्य जिल्लामा बिक्री गर्न थालेका छन्”, उनले भने ।

बाह्रदशी गाउँपालिका–७ मा स्थापित फाल्गुनन्द कृषि फार्मले अहिले ठूलो सङ्ख्यामा बिरुवा बिक्री गर्दै आएको छ । फार्मका व्यवस्थापक छोटुभाइ अन्सारीले पछिल्लो समय बिरुवा उत्पादन र बिक्रीलाई जोड दिएको बताए । उनका अनुसार फार्म अहिले ३३ बिघामा फैलिएको छ । “फार्ममा विरुवा लिनका लागि भारतबाट समेत किसान आउने गरेका छन्”, उनले भने, “एक जना किसानले १० हजार वटासम्म बिरुवा लैजाने गरेका छन् ।” उनका अनुसार यो फलको खेती बलौटे माटोमा राम्रो हुन्छ  ।

जिल्लाको बुद्धशाति गाउँपालिका–१ का किसान प्रतिमा पोखरेलले बिरुवा नहुर्केञ्जेल फलको बीचमा कुरिलो खेती गर्दै आएको बताए । बिरुवा हुर्कदै गर्दा अन्य नगदेबाली उत्पादनबाट आयआर्जन भइरहेको उनको भनाइ छ । दमक-४ का पूर्णकुमार लामाले गतवर्ष १५ कट्ठा क्षेत्रफल गरिएको ड्रागन खेतीबाट पाँच लाखभन्दा बढी आम्दानी भएको बताए । उनले यस वर्ष ४० पोल बिरुवा थप गरेका छन् ।

जिल्लाकै गौरीगञ्जमा चार बिघा जमिनमा ड्रागन फलको खेती गरेका दमक–२ का भुपेन्द्र थापाले गत वर्ष २५ लाखभन्दा बढीको फल बिक्री गरेको र यस वर्ष थप उत्पादन हुने देखिएको बताए । मल र सिँचाइको उपलब्धता राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौँसम्म उत्पादन गर्न सकिन्छ । यो फल चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ ।

Ads

सम्बन्धित पोष्टहरू