Ads

बाँकेबाट राससमा अवधी भाषाको समाचार शुभारम्भ


बाँके । नेपालगञ्ज उपमहानगरपालिका सहयोगमा राससमा ‘अवधी भाषा’ समाचार सेवा सुरु भएको छ । आज नगरप्रमुख प्रशान्त विष्टले नगर भवनमा अवधी भाषाको समाचार सेवा शुभारम्भ गरे । प्रमुख विष्टले अवधी भाषालाई संरक्षण गर्न राष्ट्रिय समाचार समितिबाट समाचार सम्प्रेषण गरेको बताए ।

“बाँकेमा अन्य भाषाको तुलनामा अवधी भाषा धेरै बोलिने हुँदा यो भाषालाई संरक्षण गर्न सञ्चारको आवश्यकता भएको हुँदा पालिकाले राससलाई रोजेको हो,” उनले भने, “सूचना आदानप्रदान गर्न भाषा चाहिन्छ र भाषा सम्प्रेषण गर्न सञ्चार । त्यसका लागि राष्ट्रिय समाचार समिति भरपर्दो माध्यम बन्नेछ भन्ने विश्वास छ ।”

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अवधी भाषाबाट जनतालाई सु–सूचित गर्न आवश्यक भएको हुँदा यो भाषाको समाचारलाई राष्ट्रिय समाचार समितिबाट सम्प्रेषण सुरु गरिएको बताए । “राससले जनताको आवश्यकतालाई मनन गरेर सूचना सम्प्रेषण गर्ने भएको हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा यो भाषामा समाचारा सम्प्रेषण गर्न लागिएको हो”, अध्क्षय झाले भने । आगामी दिनमा अन्य भाषामा पनि समाचार सम्प्रेषण गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

राससका महाप्रबन्धक सिद्धराज राईले भाषाको पहिचान जोगाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको बताउँदै उक्त महत्वलाई नेपालगञ्ज उपमहानगरपालिले बुझेकामा पालिकालाई धन्यवाद दिएका थिए । उनले राससबाट प्रकाशित हुने अवधी भाषाका समाचारले राससको पनि गौरव बढाएको बताए ।

कार्यक्रममा पत्रकार विष्णुलाल कुमाल, दैनिक नेपालगञ्जका प्रधानसम्पादक झलक गैरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं वरिष्ठ साहित्यकार सनत रेग्मीलगायतले राससमा अवधी भाषाको समाचारले निरन्तरता पाउनेमा शुभकामना व्यक्त गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू