काठमाडौ\ आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिँदै आएको सिमेन्ट उद्योगको फेरि अधोगती शुरु भएको छ । पूर्वाधार निर्माणको महत्वपूर्ण साधनको रुपमा रहेको सिमेन्टमा आत्मनिर्भर भई स्वदेशी मुद्रा विदेशिनबाट जोगाउँदै आएको यस उद्योग क्षेत्रमा पुनः समस्याहरु देखिन थालेको हो ।
सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ ।
सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उलेख्य कमी आएको जानकारी दिए । सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । आन्तरिक बजारमा सिमेन्टको माग कम भए पनि निर्यातमा भने वृद्धि भएको छ ।
मुलकमा सिमेन्ट र क्लिङ्करको निर्यातमा उलेख्य वृद्धि भएको छ । अन्य वस्तुको निर्यात घटिरहेका बेला सिमेन्ट र क्लिङ्कर निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ७६ करोड ३३ लाख १० हजार रुपियाँ बराबरको १६ लाख ७२ हजार टन सिमेन्ट निर्यात भएको छ ।
गत आवको सो अवधिमा आठ करोड ६२ लाख रुपियाँ बराबरको दुई लाख ६७ हजार टन सिमेन्ट निर्यात भएको छ । छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात हुने गरेको छ । सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । गत वर्षदेखि सिमेन्ट निर्यातमा नगद अनुदान बढाएर आठ प्रतिशतसम्म पु(याएको थियो ।
नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । निर्यात हुन थालेको १८ महिना मात्र पुगेको छ ।
चार महिना देखि उद्योग बन्द
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् ।
उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशील अखिल नेपाल औद्योगिक मजदुर सङ्गठन एकाइ समिति उद्योगको उत्पादन सुचारु गर्न र उद्योग व्यवस्थित रूपमा सञ्चालन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको हो । सङ्गठनका अध्यक्ष दीपकसिंह थोकरले उद्योग बन्द हुँदा थप समस्या आउने भएकाले नियमित सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्