बिराटनगर \ बिराटनगरमा हृदय रोग केन्द्र सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले बजेटमा घोषणा गरेको शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन गरेका हुन्। आफ्नो नेतृत्वमा सरकार बनेको १ सयौं दिनमा तामझामका साथ गरिएको उद्घाटनमा मुख्यमन्त्री कार्कीले अस्पताल उद्घाटन हुनु ठूलो उपलब्धि भएको बताए ।
प्रदेश प्रमुख, संघीय सांसदहरु, प्रदेश सरकार सबै मन्त्री र मन्त्रालयका कर्मचारीहरु कार्यक्रममा थिए । मुख्यमन्त्री कार्कीले महत्वको साथ अगाडि सारेको अस्पताल उद्घाटनमा सिंगो प्रदेश सरकार कार्यक्रम स्थलमा उपस्थित थियो । अस्पतालको लागि ५ करोड ५० लाख बजेट बिनियोजन गरेको सरकारले उद्घाटन कार्यक्रमको लागि मात्र १० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
विराटनगर १४ मा स्थापना गरिएको उपचार केन्द्र साविकको नेसनल ट्रेडिङको गोदामघर हो । कोभिड संक्रमण तीब्र रुपमा फैलिएपछि शेरधन राई नेतृत्वको तत्कालिन सरकारले २०७६ साल चैत ७ गते ५० शय्याको कोभिड १९ उपचार केन्द्र स्थापना गरि सञ्चालन गरेको थियो । संक्रमण फैलँदै जाँदा त्यसको क्षमता विस्तार गरेर २०० शय्यासम्मको बनाईको थियो ।
कोभिडको महामारी कम हुँदै गएपछि प्रदेश सरकारले पुनः त्यस केन्द्रलाई प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पताल बनाउने निर्णय गर्दै अध्ययन गरेको थियो । प्रसूति तथा स्त्री रोग अस्पताल बनाउन अध्ययनमा केहि रकम खर्चिएको सरकारले २०७९ साल भदौ ३१ गतेको निर्णयबाट संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाएको थियो । केन्द्र सञ्चालनमा रहेको बेला कार्की नेतृत्वको नाम फेरेर सरकारले हृदयरोग केन्द्र बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्