Ads

छोरी शिक्षा लागु गदै छात्रवृत्ति प्रदान


पाल्पा । तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका ७० जना छोरीलाई पढाउन थालेको हो ।

नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै नगर सरकारले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । अहिले ४७ जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको र थप २३ जनाको स्थान रिक्त भएकोकम छिट्टै छनोट गरी छात्रवृत्ति प्रदान गरिने तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । छात्रवृत्तिका लागि नगरपालिकाको मापदण्डअनुसार १ दशमलव ६ जिपिए ल्याएको हुनुपर्ने छ ।

नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छोरीलाई प्रतिमहिना रु. एक हजारका दरले वितरण गरी शिक्षा क्षेत्रमा अगाडि बढाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरेको हो । आगामी वर्षमा छोरीहरुको स्वास्थ्य, कृषि, इन्जिनियरलगायतका प्राविधिक विषयमा पहुँच वृद्धि हुनेछ ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले छोरीहरुको अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै अझै उच्च शिक्षामा पनि अभिभावकत्व ग्रहण गर्ने योजनाअनुसार कार्यक्रम बनाएको बताए ।

व्यवसायिक तथा प्राविधिक शिक्षामा छात्राको सङ्ख्या वृद्धि गर्न र छोरीले पढ्ने अवसर पाउन भनेर नै नगर सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो कार्यक्रम ल्याएको नगरप्रमुख शाहीको भनाइ छ । अहिले ४७ छोरीलाई छ महिनाको रु छ हजारका दरले रु. दुई लाख ८२ हजार छात्रवृत्ति प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए ।
–––

Ads

सम्बन्धित पोष्टहरू