Ads

व्यापार घाटा घटाउन सघाउँदै कृषि उपज


झापा\ बढ्दो बैदेशीक व्यापार घाटा घटाउन सघाउने विकल्पको रुपमा अलैची खेती समेत देखिएको छ । मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएसँगै यसले व्यापार घाटा कम गर्न महत्वपूर्ण सहयोग गरेको छ ।
अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपियाँ बराबरको २८ लाख ६६ हजार ७६० केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपियाँ बराबरको ११ लाख ६८ हजार ३०६ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १६ करोड रुपियाँ बराबरको अलैँची निर्यात बढेको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा अलैँची रहेको छ । स्वदेशमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च हुने गर्छ ।

छिमेकी मुलुक भारतमा अलैँची निर्यात हुने गरेको छ । यो वर्ष अलैँचीको मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार पूर्वी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन ७० देखि ८० हजार रुपियाँमा कारोबार भएको छ । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । यस वर्ष अलैँचीको मूल्य दोब्बरले वृद्धि हुँदा किसान उत्साहित भएका छन् ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ।

वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८÷७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७७÷७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू