काठमाडौ\ भारतको चर्चित व्यवसायीक घरना अडानी ग्रुले नेपालमा पनि लगानी गर्न रुची देखाएको छ । उसको चाहना हवाई क्षेत्रमा देखिएको हो ।
अडानी ग्रुपले नेपालको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा भैरहवालगायत विमानस्थलको सञ्चालन गर्न दिन प्रस्ताव गरेको छ । हालै भारतमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएको भेटमा अडानी ग्रुपका प्रमुख गौतम अडानीले नेपालका विमानस्थल सञ्चालन र निर्माणमा रुचि देखाएका हुन् ।
‘भाइब्रेन्ट गुजरात समिट २०२४’ मा सहभागी हुन अर्थमन्त्री डा. महत २४ पुसमा भारत गएका थिए । त्यसक्रममा उनले अर्बपति मुकेश अम्बानी, अडानी ग्रुपको प्रमुख गौतम अडानी लगायतसँग भारतका उद्योगपतिहरुसँग पनि भेट गरेका थिए ।
अर्थमन्त्री महतसँग भएको भेटमा अडानीले निजगढ विमानस्थल निर्माण तथा सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, गौतमबुद्ध विमानस्थल सञ्चालनमा रुचि देखाएका हुन् । नेपालमा प्रतिस्पर्धाका माध्यमबाट परियोजना दिँदा कमजोर कम्पनीले सस्तोमा काम लिने र सम्पन्न नगर्ने समस्या रहेको अडानले सुनाएका थिए । काम गर्दा विभिन्न अड्चन आइरहने भएकाले त्यसको दिगो समाधानमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
अडानी समूह सन् २०१९ मा मात्र एयरपोर्ट सञ्चालन तथा व्यवस्थापनमा प्रवेश गरेको थियो । तर अहिले यो समूहले मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलसहित ७ वटा विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । मुम्बईको छत्रपति शिवाजीका साथै अहमदावाद, लखनऊ, मेंगलुरु, जयपुर, गुवाहाटी र तिरुभन्थापुरम विमानस्थल सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्