काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले, चेकजाँच गर्ने क्रममा कर्मचारीमाथि हातपात गरेका छन् । आज शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् । आफ्नो काम सकेर फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरी द्वारा कुटिएको बताइएको छ ।
मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो रहेको छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनेर सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो ।
त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनि कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । सोहि क्रममा कार्यालय प्रमुख हमालमाथि समेत आक्रमण भएको बताइएको छ ।हमालका अनुसार प्रहरी कर्मचारीले पछाडिबाट आफूमाथि समेत लात्ती प्रहार गरेका बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्