काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन्।
कर्मचारीहरूको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाइ थियो। सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीमाथि कसैले पनि औँला ठड्याउने अवस्था नरहेको जिकिर गरे।
उनले न्यायकर्मीहरू सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे। त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।
न्यायालयका प्रमुखको हैसियतले न्यायालयभित्रका सबै कर्मचारी, न्यायाधीशहरूमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए। प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए।
उनले भने, ‘यो पुस्तक प्रकाशन त गर्नुभयो। यो पुस्तकको सबैले अध्ययन गर्ने वातावरण तपाईंहरूले कसरी बनाउन सक्नुहुन्छ ? यो पुस्तकको प्रयोग र कार्यान्वयनमा आयो भने यो पुस्तकको महत्त्व होला। यस्ता खालका नयाँनयाँ रचनात्मक काम अध्ययन अनुसन्धानका लागि सबैका लागि सधैधरी रहिरहने दस्ताबेज भएको हुनाले यसको महत्व ज्यादै छ। तपाई कर्मचारी साथीहरूले गर्दा नै अहिले गतिमा हिँड्दैछ न्यायालय। अहिले कसैले हामीलाई औंला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौँ। सबै कर्मचारी साथीहरूको योगदान छ। त्यसलाई म आदर, सम्मान गर्छु।’
प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्