काठमाडौ\ नयाँ विमानस्थल निर्माणका लागि विभिन्न स्थानमा बहस भई रहँदा करोडौ रुपैयाँ खर्च गरिएका कयौ विमानस्थल वर्षौ देखि अलपत्र छन् । ति विमानस्थलबाट हुने उडान बन्द छन् । कतिपयमा त झण्डै २ दशक देखि उडान भएको छैन । कञ्चनपुरको महेन्द्रनगरमा झन्डै दुई दशकदेखि उडान बन्द छ भने रोल्पाको स्याङ्बोचेमा पनि २०७३ यता उडान भएको छैन । त्यस्तै मेघौली विमानस्थल, कैलालीको टीकापुर र अछामको कमल बजारमा दशक बिते पनि उडान हुन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौ वटा छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कालोपत्रे भएका ती विमानस्थलका धावनमार्ग ग्राभेल हुँदा जहाज उडान–अवतरण हुन्थ्यो । तर सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन सकेका छैनन् । प्राधिकरणको तथ्याङ्क अनुसार बागलुङको बलेवा विमानस्थलमा २०७३ चैत ९ गतेदेखि नगरपालिकाले १४ जना यात्रुको जिम्मा लिएपछि सुरु भएको उडान २०७४ कात्तिकपछि बन्द छ ।
द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी भएपछि २०५२ सालदेखि पूर्णरूपमा बन्द बैतडी विमानस्थलमा २०७७ असोज १७ गते परीक्षण उडान भएको थियो । परीक्षण उडान भएर पनि त्यहाँ २०७८ चैत १० यता उडान बन्द छ । सोही दिन परीक्षण उडान भएको डोटी विमानस्थलमा पनि परीक्षण उडानपछि केही उडान भए पनि हाल विमानस्थल बन्द छ ।
त्यस्तै लामीडाँडा विमानस्थलमा कालोपत्रे हुनुअघि उडान हुथ्यो । तर २०७८ सालदेखि उडान हुन सकेको छैन । मनाङमा पनि उडान नभएको एक दशकभन्दा बढी भइसकेको छ । डोल्पाको मसिनेचौर विमानस्थलमा पनि २०७४ यता उडान भएको छैन । त्यस्तै कालीकोटमा पनि धावनमार्ग कालोपत्रे भइसके पनि उडान सञ्चालन हुन सकेको छैन ।
हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् । जसमध्ये कालोपत्रे र ग्राभेल धावनमार्ग भएका २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । सूचना अधिकारी भुलका अनुसार मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भए पनि निर्माण गरिएका पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको पाँच, छ अर्ब लगानीको प्रतिफल प्राप्त गर्न सकिएको छैन । निर्माण भएर उपकरणसमेत जडान भएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको अर्बौं लगानी त्यत्तिकै खेर गइरहेको छ ।
चारदेखि पाँच सय मिटरसम्म धावनमार्ग भएका नौ वटा विमानस्थलमध्ये एउटा धावन मार्ग कालोपत्रे गर्न प्राधिकरणले ५० करोड रुपियाँसम्म लगानी गरेको छ । कालोपत्रे भएर उडान सञ्चालन हुन नसक्दा विमानस्थलको धावन मार्गमा भएको झन्डै पाँच अर्ब रुपियाँ लगानीको प्रतिफल प्राप्त हुन छैन। त्यसमाथि १३ वटा कच्ची धावनमार्ग भएका विमानस्थलमा निर्माण भएका टावर, टर्मिनललगायतका संरचनाको रेखदेख गर्न कर्मचारी खर्चको समेत व्ययभार लगानीको प्रतिफल भने पाउन नसकेको उनले जनाए ।
प्राधिकरणका अनुसार कालोपत्रे धावनमार्ग भएका विमानस्थल जुनुसुकैबेला प्रयोग गर्न सकिने अवस्थामा रहे पनि सञ्चालनको तयारी छैन । प्रयोगमा नरहेका विमानस्थलमध्ये दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको कांगेलडाँडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, रोल्पा, सोलुखम्बुकै स्याङ्बोचे, ओखलढुङ्गाको रुम्जाटार र कैलालीको टीकापुरमा लाखौँ लगानी भएको छ । यी विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छैन ।
धावनमार्ग कालोपत्रे नभए पनि यी विमानस्थलमध्ये पालुङटारमा दुई दशकदेखि उडान भएको छैन । कांगेलडाँडामा २०७७ मङ्सिर ३० गते परीक्षण उडान भएको थियो । बिचमा केही समय उडान भए पनि हाल बन्द छ । खिजी चण्डेश्वरीमा पनि २०७६ पुस १० गते परीक्षण उडान भएको थियो । त्यहाँ पनि उडान बन्द छ ।
प्रतिक्रिया दिनुहोस्