धनकुटा\ दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले किसानको करोडौ रुपैयाँ उधारो भुक्तानी नगर्दा धनकुटाका किसान आहातमा छन् । धनकुटा जिल्लाको मात्र १३ लाख ५५ हजार १ सय ५६ लिटर दुधको नौ करोड ७० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको दुग्ध विकास संस्थान विराटनगरले जनाएको छ ।
यस्तै जिल्लाबाट दुध लाने निजी डेरी उद्योगको पनि अवस्था उस्तै छ । निजी डेरीहरुले समेत समयमा दुधको रकम भुक्तानी गर्न सकेका छैनन् । सुरु सुरुमा रामै भुक्तानी दिएर दुध लैजाने गरेका संस्थान तथा निजी डेरीले गत वर्षबाट भने नियमित भुक्तानी दिन छोडेका हुन् । तर यो वर्ष भने अनियमित मात्र हैन पाँच महिना बित्दासमेत एक पैसा भुक्तानी दिन सकेका छैनन् । धनकुटामा दैनिक करिब ३० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । जसमध्ये ७० प्रतिशत दुध जिल्ला बाहिर दुग्ध विकास संस्थान र निजी डेरीमार्फत निकासी हुने गरेको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामित्वको दुग्ध विकास संस्थानबाट रकम भुक्तानी नपाएको पाँच महिना भएको जनाएको छ। साउन १५ गतेसम्मको भुक्तानी पाएको संस्थाले त्यसयता एक रुपियाँ पनि पाएको छैन । सो संस्थाले दुग्ध विकास संस्थानबाट एक लाख पचास हजार लिटरको करिब ८० लाख रुपियाँभन्दा बढी रकम लिन बाँकी छ ।
सहकारीले दुग्ध विकास संस्थानबाट रकम नपाएपछि कृषकलाई पाँच महिनाको अवधिमा एक रुपियाँ पनि भुक्तानी दिन सकेको छैन । आफूले पाउने रकम माग्दासमेत संस्थानले आनाकानी गर्ने गरेको संस्थाका अध्यक्ष भरत कार्कीले बताए । भुक्तानी मागको लागि विराटगरसम्म पुगे पनि नबिकेको घिउ देखाएर बिक्री भएपछि पैसा दिने भनेर पठाईएको उनको भनाई छ । पैसा समयमै भुक्तानी नपाउँदा कृषक यो पेसाबाटै पलायन हुने अवस्थामा पुग्नुको साथै सहकारीसमेत बन्द हुने अवस्थामा पुगेका कार्कीको गुनासो छ ।
धनकुटा नगरपालिका वडानम्बर १ हिलेस्थित श्री चञ्चलादेवी बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थाको पनि अवस्था उस्तै छ । लामो समयदेखि भुक्तानी रोकिएपछि कृषकलाई पैसा कसरी खुवाउने भन्ने चिन्ता सहकारीलाई छ । पैसा नआएको पाँच महिना भयो, कृषकलाई कसरी भुक्तानी दिने भन्ने चिन्ता रहेको व्यवस्थापक भीम मल्ले बताए । दुध उत्पादक कृषकको लागि दुध बिक्री एक मात्र मुख्य आम्दानीको स्रोत हो । उसले आफ्नो सबै खर्च दूध बेचेरै आएको आम्दानीले गर्ने गरेको हुन्छ । तर दुध खरिद गर्ने सरकारीसहित निजी कम्पनीले लामो समयदेखि दुधको रकम निकासी नगरिदिँदा किसानहरु समस्यामा परेका छन् । पाँच महिनादेखि रकम नपाउँदा आफूहरु समस्यामा परेको कृषकको गुनासो छ ।
धनकुटाका धेरै कृषकको मुख्य आम्दानीको स्रोत नै दुध हो ।व्यावसायिक पशुपालनमा लागेको कृषक अहिले व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको धनकुटा मारेकटहरेका कृषक नारद कटुवाल बताउँछन् ।
लामो समयदेखि दुग्धजन्य परिकारहरु बिक्री वितरण नभई गोदाममै थन्किएकाले भुक्तानी दिन नसकिएको दुग्ध विकास संस्थान विराटनगरले जनाएको छ । दुग्ध उत्पादन बढी सङ्कलन हुन थालेको तर उत्पादित परिकारको बिक्री भने क्रमशः घट्न थालेकाले भुक्तानी रोकीएको दुग्ध विकास संस्थान विराटनगरका प्रमुख प्रमेश्वर चौधरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्