Ads

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको सुधार


काठमाडाैँ । भ्रष्टाचारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सूचकांकमा नेपालले सुधार गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपाललाई १०० मा ३५ अंक (१०८औँ स्थान) दिइएको छ। सिपिआई २०२२ मा नेपालको अंक ३४ (११०औँ स्थान) रहेको थियो।

अघिल्लो वर्ष सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालले दुई स्थान सुधार गरेको हो। गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको प्रतिवेदनमा उल्लेख छ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्तगरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्तगरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६ औं), भारतले ३९ (९३ औं) माल्दिभ्सले ३९ अंक (९३ औं), नेपालले ३५ अंक (१०८ औं), श्रीलङ्काले ३४ अंक (११५ औं), पाकिस्तानले २९ अंक (१३३ औं), बङ्गलादेशले २४ अंक (१४९ औं) र अफगानिस्तानले २० अंक (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६ औं) प्राप्त गरेको छ ।​

सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाइ मुलुकले ५० भन्दा कम अंक पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू