Ads

संसदलाई ‘विजनेश’ बिहिन नबनाउन प्रधानमन्त्रीको चासो


काठमाडौँ, यही माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । अघिल्लो अधिवेशन अपेक्षित कामै नगरि अन्त्य भएको आलोचना भई रहेको छ । यस्तो अपजस आउन नदिन प्रधानमन्त्री र सभामुख अहिले देखिनै सक्रिय छन् । सभामुख देवराज घिमिरेले पटक पटक विषयगत समितिसँग छलफल गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई विजनेस अभाव हुन नदिन निर्देशन दिएका छन् ।

यसै क्रममा सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य (बिजनेस) व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गरे । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे छलफल गरेका हुन् ।

सङ्घीय संसद्को अघिल्लो अधिवेशनले बजेटबाहेक एक मात्र विधेयक पारित भएपछि आलोचना भएको थियो । आउँदो अधिवेशनलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट हुने बिजनेसको तयारीका लागि पनि प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

मन्त्रालयको टोलीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ । तर यस पटक त्यस्तो नहोस् । संसद् सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयक दर्ता गर्ने गरी तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यस पटक संसद्लाई व्यवस्थित रूपले बिजनेस दिनु पर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’

छलफलमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयक छिटो संसद् पठाउन मन्त्रालयलाई निर्देशन दिए । कानुनले अहिले विभिन्न मन्त्रालयबाट प्राप्त विधेयकको प्राथमिकता निर्धारण र हिउँदे अधिवेशनमा पठाउने सम्भावित सूची तय गरिसकेको छ । ३० भन्दा बढी विधेयक हिउँदे अधिवेशनमा दर्ताका लागि पठाउने तयारी मन्त्रालयको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू