Ads

कुन कुन वस्तुले सघाउँदैछन्, निर्यात व्यापारमा ?


काठमाडौँ, मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यातमा भने वृद्धि भएको छ ।  व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा मुलुकबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड रहेका छन् ।

छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएका बेला पाँच वटा वस्तुको निर्यात २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार छ महिनामा मुलुकबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन निर्यात ८३ प्रतिशतले बढेर आठ अर्ब ९८ करोड ९१ लाख रुपियाँ भएको छ । गत वर्ष सो अवधिमा चार अर्ब ७३ करोड ९४ लाख रुपियाँको आइरन तथा स्टिलका सामान निर्यात भएको थियो ।

विदेशबाट ठुलो रकमको काठ आयात भइरहेको बेला प्लाइउड निर्यात १०२ प्रतिशतले बढेर तीन अर्ब ५३ करोड ३२ लाख रुपियाँको भएको छ ।

यस्तै छ महिनामा तीन अर्ब ९५ करोड रुपियाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ८६ करोड २८ लाख रुपियाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिङ्कर निर्यात बढ्न थालेको हो । यस्तै जुस निर्यात ४५ प्रतिशतले बढेर तीन अर्ब ८० करोड ५७ लाख रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।

गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड ३८ लाख रुपियाँको जुस निर्यात भएको थियो । तीन अर्ब ९० करोड ७६ लाख रुपियाँको अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड रुपियाँको अलैँची निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेकाले सिमेन्ट क्लिङ्कर प्लाइउडको निर्यातमा वृद्धि भएको हो । सरकारले स्वदेशी वस्तु निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू