Ads

नेप्से र कारोबार रकम दुबैमा गिरावट


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले आज पनि निरन्तरता दिएको छ ।

बिहीबार नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०९ स्टकको ८० हजार पटकको कारोबारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने आज ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक ९.४२ प्रतिशत घटेको छ । त्यस्तै, आज मिड सोलु हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ । कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक आज २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

Ads

सम्बन्धित पोष्टहरू