Ads

भारतले नेपाललाई दियो २९८रनको लक्ष्य


काठमाडौं । सचिन दास र उदय सहारानको शतकमा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गर्‍यो।

भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए । युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।

सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।

नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो ।

जारी युवा विश्वकपमा अपराजित भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको छ । यता, नेपालले भने प्रतियोगितामा हालसम्म एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू