Ads

लिलामी नहुँदा करोडौको काठ कुहिँदै


कावासोती, लिलामी नभएका कारण पूर्वी नवलपरासीमा करोडौको काठ त्यसै खेर जाने अवस्थामा पुगेको छ । जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका हुन् ।

वनबाट कानुनी मान्यता प्राप्त गरी निस्कने काठ र काठ तस्करबाट बरामद गरिएका करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत समीर लम्सालले बताएका छन् ।

जिल्लाभरि ८० करोडभन्दा माथिको सालको चार लाख क्युफिट काठ जिल्लाका वन क्षेत्र र जिल्ला डिभिजन कार्यालय हाताभित्र लिलाम हुन नसकेर थन्किएर रहेका ती काठ कुहिएर जान थालेका छन् । अधिकृत लम्सालले पटक पटक टेन्डर निकालियो तर टेन्डर कसैले नलिँदा थान्काएर राखिएको काठ कुहिन थालेको जनाए ।

काठको नयाँ नीति आएपछि कुनै पनि ठेकेदारले टेन्डर प्रक्रियामा भाग नै लिन नसकिने अवस्था आएको जिल्ला काठ व्यवसायी सङ्घका पूर्वअध्यक्ष विश्वराज बगालेको भनाई छ । । काठको नयाँ सूत्र अनुसार २७.०५ प्रतिशत प्रतिक्युफिटमा सूत्र बढेको छ, अर्थात् पहिले पाँच सय क्युफिट काठको वास्तविक तौल रहँदा अहिले सूत्र बढेर ७७५ क्युफिट पुगेको बगालेले जनाए ।

प्रदेशको वन नीतिमा नै समावेश भएकाले यसलाई संशोधन नगरेसम्म कसैले पनि काठ लिलामीमा सहभागी हुन सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाई छ ।

जिल्लामा काटिएका तथा तस्करबाट समातिएका ८० करोड रुपियाँभन्दा बढीको काठ बिक्री गर्नका लागि जिल्ला डिभिजनल वन कार्यालयले लिलामी प्रक्रियामा जाँदा समेत लिलाम हुन नसकेको र अब तेस्रो पटक पुनः सूचना प्रकाशन गरिने वन अधिकृत लम्सालले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू