काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहले धरहरा क्षेत्रको निशुल्क पार्किङ बन्द गर्न पत्र गएको भन्दै आक्रोश पोखेका छन् । मेयर बालेन्द्रले सोमबार सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् ।आफू छउञ्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने चेतावनी उको छ । सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको आरेप उनले लगाएका छन् ।
‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’ उनले भनेका छन् ।
यस्तो छ उनको स्टाटस :
२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ” ।
तर केहीदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’
उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृतिलाई निरुत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदैछ , अझै व्यवस्थापन गर्दै लग्नेछौं । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।
प्रतिक्रिया दिनुहोस्