Ads

समाजवादका आधार निर्माण र रुपान्तरणमा लाग्न एमाले उपाध्यक्ष पौडेलको निर्देशन


काठमाडाैँ ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजवादका आधार निर्माण र समाज रुपान्तरणमा लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले रुपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रमको सोमवार बुटवलमा उद्घाटन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

पार्टीलाई विधि, पद्धतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतीपूर्ण रहेको बताउँदै उनले विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई गम्भीरताका साथ लिन आग्रह गरे ।

‘पार्टीभित्र नीतिमा समस्या नरहेकोले वैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने हाम्रो पार्टीमा समस्या छैन । तर अरूको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी छ’, पौडेलले भने, ‘संगठनात्मक अराजकता अन्त्य भएको पाइएन । स्वतन्त्रताका नाममा अराजकता हाबी हुन लाग्यो ! पार्टीको नीति सही छ, नेतृत्व सक्षम छ ।’
पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै पौडेलले भने, ‘प्रतिस्पर्धामा रहेका दलहरू छेउमा धिप्किन सक्ने हैसियतमा छैनन् ! तर पनि हामीलाई के को छिनाझपटी छ ? के को तँछाडमछाड छ ? के का लागि अस्वस्थ प्रतिस्पर्धा गरिएको छ ?’

रुपन्देही पार्टीका लागि चुनौतीपूर्ण र अपरिहार्य कार्यसूची भित्र सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न उनले आग्रह गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू