Ads

सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने काममा लागेको छ: एमाले


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने काममा लागेको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्टबाजी मात्रै गरिरहेको आरोप लगाएका हुन् ।

‘सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने काममा लागेको छ । एकपछि अर्को ठूला–ठूला भ्रष्टाचारका काण्ड आइरहेका छन् । सरकारले भ्रष्टाचारीलाई कारबाहीको बहानामा स्टन्टबाजी गर्छ,’ उनले भने ।

प्रमुख सचेतक गिरीले सरकारले कुनै पनि भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने इच्छाशक्तिका साथ काम नगरेको पनि बताए । उनले सरकारले कमजोरलाई समाउने र शक्तिशाली व्यक्ति भेटिए पर-पर भाग्ने काम गरिरहेको आरोप पनि लगाए । ‘कमजोर मान्छे भेटिए कारबाहीको दायरामा ल्याउने र शक्तिशाली अलिक बलियो व्यक्ति भए आफैँ पर-पर भाग्ने काम सरकारले गरिरहेको छ,’ प्रमुख सचेतक गिरीले भने ।

‘सुशासनका कुरा कहाँबाट गर्नुहुन्छ । टेरामक्स छानबिन चलिरहेको छ । एउटा ल्यापटप ५० हजार डलरमा किनिएको छ । खाने पनि कत्रो मुख हो ? तिनै मान्छे अहिले मन्त्री छन्, माननीय छन् । यो के हो भनेर अख्तियारले बनाय बोलाउँदा जान्न भन्ने ?’ सांसद गिरीले भने, ‘२०५१ सालतिर एकजना पूर्वप्रधानमन्त्रीले भनेका थिए– मैले बनाएको अख्तियारले मलाइ बोलाउने । अहिले पनि त्यही गर्न खोजेको हो ?’

टेरामक्स प्रकरणमा बयानका लागि बोलाउँदा कांग्रेसका सांसदसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्व संचारमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर कार्की अख्तियारको बयानमा नगएको समाचार बाहिरिएको थियो । ‘अख्तियारले बोलाएर सत्तारूढ दलका सांसद जाँदैनौं भन्ने ? अनि देशमा सुशासन कायम हुन्छ ? सरकारले कसलाई संरक्षण गर्न खोज्दै छ । सरकारको नैतिक धरातल कस्तो छ ?’ गिरीले भने ।

सांसद गिरीले सहकारीको सम्पत्ति विचलन गर्ने सबैलाई कानूनको दायरामा ल्याउन माग गरे ।

Ads

सम्बन्धित पोष्टहरू