काठमाडौं । नेकपा एमाले दैलेख जिल्ला अधिवेशनमा आज (बुधबार) पुनः मतदान सुरु भएको छ । गत पुसमा भएको अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
एमाले नेता तथा प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले बिहान नौ बजेदेखि मतदान सुरु भएको बताए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो । एमालेले सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास गरेपनि सफल हुन नसकेको बताइएको छ ।
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । दैलेखमा जिल्लामा मतदाता सङ्ख्या ७२१ रहेको छ । अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको थियो ।
एमाले दैलेखको अध्यक्षकामा सूर्यबहादुर शाही र निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्