म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ ।
नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युत्गृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७।४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युत्गृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो । प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ ।
सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए । “टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ,” उनले भने, “माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छौँ ।”
नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्