Ads

आन्दोलन छोडेर काममा फर्किए शिक्षक–कर्मचारी


धरान\ एक महिनादेखि काम छाडेर आन्दोलनमा उत्रिएका सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक र कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि आन्दोलन फिर्ता भएको हो ।

शुक्रबार बसेको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णयपछि शनिबार उपकुलपतिको कार्यलयमा भएको छलफलले आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्किने सहमति भएको हो । शुक्रबार कार्यकारिणीले गरेको निर्णयपछि शनिबार आन्दोलनर पक्ष र वीपी प्रतिष्ठानको व्यवस्थापन पक्षवीच वार्ता भएको थियो । वार्तामा ६ बुँदे सहमतिपछि आन्दोलन अन्त्य भएको हो । सहमतिअनुसार शनिबार अपरान्ह ३ बजेदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको कर्मचारी कल्याण समाजका अध्यक्ष डा।सेराज अहमत खानले जानकारी दिएका छन् ।

सहमतिपत्रमा कामु उपकुलपति प्राडा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा।जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् । माघ २९ गते वीपी प्रतिष्ठानको संचालक परिषद ९सिनेट०को बैठक तोकिएको छ । सहमतिपछि रजिष्ट्रार प्राडा संग्रौलाले बढुवाको अन्तर्वार्ताको तालिका फागुन ६ गते प्रकाशन गर्न दिइसकेको बताए ।

अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र एक साताभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने तथा शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता गर्ने सहमति छ ।

वर्षौदेखि रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग गर्दै शिक्षक कर्मचारी पटक पटक आन्दोलित भएका थिए । प्रतिष्ठानले २०७९ पुस २० र माघ २५ गते बढुवाका अन्तर्वार्ताको सूचना निकालेको थियो । तर, कामु उपकुलपति कार्कीको कारण बढुवा प्रक्रिया रोकिएको थियो ।

रोकिएको बढुवा प्रक्रिया बारेमा निर्णय गर्न भन्दै उपकुलपति कार्कीले २५ पुसमा कार्यकारिणी समितिको बैठक बोलाएका थिए । तर, उनले आफैं बैठक स्थगित गरेपछि शिक्षक र कर्मचारी २९ पुसदेखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए ।

कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपकुलपति कार्की अन्तर्वार्ता सञ्चलन गर्न तयार भएका हुन् । एक वर्षअघि प्रकाशित विज्ञापन अनुसार बढुवा प्रक्रिया रोकिएपछि २३ असोजमा पनि प्रतिष्ठनका १७७ चिकित्सकले कुलपति तथा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएर आन्दोलनमा उत्रिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू