काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै पार्टी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकार भएकोले कसैले रोक्न नसक्ने बताएका हुन ।
‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो। अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्यो,’ बैठकमा प्रचण्डले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं। तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ।’
भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस्