काठमाडाैँ । लुम्बिनी विकास कोषले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मंगलवार काठमाडौंमा बसेको कोषको बैठकले गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि द प्रमिस्ड ल्यान्ड कम्पनीसँग गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिले गत माघ २८ गते कोषले सो कम्पनीसँग गरेका सम्झौता खारेज गर्न निर्देशन दिएको थियो ।
रामग्राम क्षेत्र गौतम बुद्धको अस्थिधातु समाधि गरिएको स्थल हो । कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।
कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्यको उपस्थिति हरेको थियो ।
प्रतिक्रिया दिनुहोस्